
पुस महिनाको पहिलो आइतबार आज भगवान् सूर्यको पूजा आराधना गरिँदै छ ।
वैदिक सनातन हिन्दु धर्म परम्पराअनुसार पुसलाई सूर्य देवताको महिना मानिन्छ । आजलाई पौष कृष्णपक्ष सप्तमी तिथि अर्थात् रवि सप्तमी पनि भनिन्छ ।
यस महिनामा सूर्यको दर्शन एवं पूजन गरेर मात्र खाने र प्रत्येक रविवार पवित्र भई व्रत बसी मध्याह्नमा सूर्य देवको विशेष पूजा गरी करवीरको पातमा जल, पञ्चामृत राखी सूर्यलाई अर्घ्य दिइन्छ । सूर्य भगवान्लाई मन पर्ने प्रसादको रूपमा घिउ खट्टे, चिनी आदि चढाइन्छ ।
पुस महिनाका सूर्यको नाम विष्णु हो । विष्णुले सबैसँग कुरा गर्दा एक पक्षलाई एक दिन मान्नुपर्ने एक पक्षको पक्षधरता छ । आजको दिन बर्तालुले घरमा ब्राह्मण बोलाएर पूजा आराधना सहित अन्न दान दिनुपर्ने व्यवस्था रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाड्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताउनुभयो ।
सर्वप्रथम भगवान् नारायणबाट ब्रह्माजी आविर्भाव हुनुभयो । ब्रह्माजीको मनबाट मरिचिऋषि, मरिचिको पुत्र कश्यपऋषि कश्यपको धर्मपत्नी अदितिबाट विवस्वान् सूर्यको जन्म भएको भन्ने विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।
सूर्य सर्वप्रथम मृत अचेतन अण्डमा बस्नुभएकाले उहाँलाई मार्तण्ड भनिन्छ । नारायण भगवान् मृत अण्डमा प्रवेश गरी हिरण्यमय ज्योतिर्मय ब्रह्माण्डबाट प्रकट हुनुभएकाले उहाँलाई सूर्यनारायण हिरण्यगर्भ भनिएको पण्डित बालमुकुन्द देवकोटाले बताउनुभयो ।