
मुग्लिन- काठमाण्डौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ ।
स्तरोन्नति सहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा कटान गर्नुपर्ने भएकाले आजदेखि यही पुस १३ गतेसम्म दैनिक बिहान ११ः०० देखि दिउँसो २ः०० बजेसम्म बन्द गरिने नागढुङ्गा- मुग्लिन सडक आयोजनाले जनाएको छ ।
आयोजनाले सूचना जारी गर्दै राजमार्ग भएर काठमाण्डौँ जाने आउने सवारीचालकले लेन अनुशासन पालना गरी सवारी चलाउन आग्रह गरेको छ । सो समयमा एम्बुलेन्स, प्रहरीका सवारी र दमकलजस्ता अत्यावश्यक सवारी साधन चल्न रोकावट नहुने जनाइएको छ ।
नागढुङ्गा- मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर विजय दराईका अनुसार पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी तर्फ जाने भारी सवारी साधन गल्छी- बैरेनी र हलुका सवारी साधन जरेखेतमा रोकिने छ ।
यसैगरी चितवनतर्फबाट नौबिसे जाने सवारी साधन चालिसे र घाटबेँसीमा रोकिनेछ । विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु जाने सवारी साधन मझिमटार र चरौंदी बजारमा रोकिनेछ ।