झापा, पुस ८ :

झापाको बुद्धशान्ति गाउँपालिका- ३ मा चार केजी प्रतिबन्धित लागु औषध गाँजासहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ परेकी छन् ।

बुधबारे इलाका प्रहरी कार्यालयका प्रहरीले गए राति ११ः३० बजे धिमालको घरमा खानतलासी गर्दा सुत्ने कोठाबाट चार केजी गाँजा, नगद तीन लाख छ हजार आठ सय ७० र भारु दुई हजार तीन सय बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

लागु औषध कारोबार भइरहेको सूचना प्राप्त गरी प्रहरी टोली धिमालको घरमा पुगेको थियो । पक्राउ परेकी धिमाललाई धुलावारी इलाका प्रहरी कार्यालयमा राखिएको छ । घटनास्थलबाट गाँजा जोख्ने तराजु, ढक, लाइटर, प्याकेजिङ प्लास्टिक, चक्कु, कैची, अचानो र हथौडा बरामद भएको प्रहरीले जनाएको छ । 

झापामा लागु औषध कारोबार गरेको अभियोगमा शनिबार एकैदिन पाँच जना विभिन्न स्थानबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर- ६ का ४१ वर्षीय रूपेश पाख्रिन र ३२ वर्षीय डिकबहादुर मगर, इलामको माङसेबुङ- ४ का २४ वर्षीय रोदन लिम्बू र दमक- ६ का २० वर्षीय नवीन ठटाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आरोपी नवीन र रोदनलाई प्रतिबन्धित लागु औषध खैरो हेरोइन र ट्रामाडोल क्याप्सुलसहित प्रहरीले दमकबाट नियन्त्रणमा लिएको थियो भने रुपेश र डिकबहादुरलाई मेचीनगरको काँकडभिट्टाबाट पक्राउ गरेको सूचना अधिकारी चन्दले बताउनुभयो ।