
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जिल्लामा सन् २०२४ मा ८८ वटा मानवअधिकार उल्लङ्घनका घटना घटेको जनाएको छ ।
‘मानवअधिकार वर्ष पुस्तक सन्- २०२५’ को समीक्षा कार्यक्रममा शनिबार इन्सेकले गैरराज्य पक्षबाट ८७ र राज्यपक्षबाट एउटा मानवअधिकार उल्लङ्घनको घटना घटेको जानकारी दिएको हो ।
इन्सेकका जिल्ला प्रतिनिधि दुर्गा परियारले जिल्लामा बलात्कार, हत्या, बहुविवाह, घरेलु हिंसाजस्ता घटना घटेको बताउनुभयो। यस अवधिमा १३ बालिका बलात्कार घटनाबाट पीडित भएका छन् भने छ बालिका यौन दुर्व्यवहारको घटनामा पीडित भएका छन् ।
त्यसैगरी, ११ वटा बलात्कारका घटना घटेको र सातवटा बलात्कार प्रयासका घटना भएका छन् । पाँच पुरुष र पाँच महिलाको परिवारजनबाटै हत्या भएको छ । बहुविवाहका सातवटा घटना घटेका छन् ।
गाउँनिकाला, झडप, ढुङ्गामुढा, नाकाबन्दी, आत्महत्या दुरुत्साहन, घरेलु हिंसा लगायतका मानवअधिकार उल्लङ्घनका घटना घटेका छन् । स्थानीय तहहरूका न्यायिक समितिमा पीडितहरूले विश्वास नगरेको देखिएको छ ।
वर्ष पुस्तक समीक्षा कार्यक्रममा इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक शिव कट्टेलले प्रहरी जनशक्ति पर्याप्त नभएकाले अपराध नियन्त्रण र लागू पदार्थ दुर्व्यसनी न्यूनीकरणमा चुनौती देखिएको बताउनुभयो ।
त्यसैगरी, मधेस प्रदेशसभाका सदस्य राजेन्द्रप्रसाद चौधरीले समाजमा हिंसा न्यूनीकरणका लागि कानुन कार्यान्वयनको पक्ष फितलो रहेको बताउँदै आम नागरिक सचेत हुनुपर्ने बताउनुभयो ।