
बागलुङ, साउन २६ :
बागलुङको ढोरपाटन क्षेत्रमा पछिल्लो समय सामूहिक रूपमा व्यावसायिक स्याउ खेती थालिएको छ । परम्परागत रूपमा हुँदै आएको स्याउ खेतीले बजार लिन नसकेपछि इटालीबाट ल्याएको आधुनिक स्याउका बिरुवा ढोरपाटन उपत्यका क्षेत्रको जग्गामा लगाउन थालिएको हो।
स्याउ खेतीको उच्च सम्भावना रहेकोले ढोरपाटन नगरपालिका-९ मसगाउँमा ६ युवा मिलेर एक वर्षदेखि स्याउ खेती गर्न थालेको किसान चिरनकुमार घर्तीले बताउनुभयो ।
चिरन र स्थानीय हुमलाल भुसालले रुद्र घर्ती, चकेन्द्र घर्ती, कमानसिंह बुढा र झिरमती घर्तीसँग मिलेर एक सय रोपनीमा स्याउ बगैँचा तयार गरेका छन् । इटालीबाट ल्याएका एक हजार तीन सय स्याउका बिरुवा गत असारमा लगाइएको थियो । पहिलो चरणमा लगाएका नौ सय बिरुवामा स्याउ फल्न थालिसकेको चिरनकुमार घर्तीले जानकारी दिनुभयो।