गण्डकी, पुस ८ :

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले लामिछानेसँगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध आज सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर गरिएको जानकारी दिनुभयो ।  
    
पूर्वगृहमन्त्री लामिछानेमाथि २७ करोड ८९ लाख ४४ हजार सात सय बिगो दाबीसहित मुद्दा दर्ता गरिएको उहाँले बताउनुभयो । यस्तै जोशीविरुद्ध ७४ करोड ३४ लाख ७१ हजार बढी बिगो दाबीसहित मुद्दा दायर गरिएको छ । 

अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको माग सहित अभियोगपत्र दर्ता गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले बताउनुभयो । 

लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा र  ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरिएको छ । सरकारी वकिल कार्यालयका अनुसार सहकारी ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । 

जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा सभापति लामिछानेसहित विभिन्न व्यक्तिविरुद्ध सजायको माग दाबीसहित अभियोगपत्र दर्ता भएको बताउनुभयो । 

सहकारी बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाण्डौँबाट पक्राउ पर्नुभएको थियो । उहाँमाथि कास्की सहित अन्य जिल्लासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ ।