काठमाण्डौँ , पुस ९ :

नबिल बैङ्कले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण गरेको छ ।

बैङ्कका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीलाई  आइतबार  आयोजित एक कार्यक्रममा अस्थायी आवास निर्माण सम्पन्न भएको जानकारी दिँदै त्यससम्बन्धी कागतपत्र उहाँहरूलाई  हस्तान्तरण गर्नुभएको हो । 

बैङ्कले स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिका- १ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिका- १ मा ४९ अस्थायी आवास निर्माण गरेको थियो ।

बैङ्कले आइतबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार आवास हस्तान्तरण कार्यक्रममा अध्यक्ष पौडेलले बैङ्क समाजमा सकारात्मक प्रभाव पार्न सधैँ प्रतिबद्ध रहेको बताउँदै प्राकृतिक प्रकोपबाट प्रभावितलाई सहयोग पुर्याउने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत बैङ्कले अस्थायी आवास निर्माण परियोजना कार्यान्वयन गरेको जानकारी दिनुभयो । 

नलगाड नगरपालिकाका प्रमुख रावत र चौरजहारी नगरपालिकाका प्रमुख वादीले भूकम्प प्रभावितलाई ओत लाग्ने ठाउँ उपलब्ध गराएकामा बैङ्कप्रति आभार व्यक्त गर्नुभएको थियो । 

अघिल्लो वर्षको कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका- १, रामीडाँडा केन्द्रबिन्दु भएर ६. ४ रिक्टर स्केलको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठुलो क्षति भएको थियो ।