काठमाण्डौँ , पुस ९ :

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज राति पश्चिम नेपालका पहाडी र हिमाली भेगमा वर्षाको सम्भावना रहेको जनाएको छ।

काठमाण्डौँ र पोखरामा पनि छिटपुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसपछि वर्षा गराउने अर्को प्रणाली शुक्रबार भित्रिने र त्यो पनि पश्चिम नेपालमा मात्र रहने महाशाखाको जारी बुलेटिनमा उल्लेख छ ।

आज तराई र उपत्यकाका केही ठाउँमा हुस्सु र कुहिरो पनि लागेको छ । यसले यातायात क्षेत्रमा केही असर पर्न सक्ने भएकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुँदा जाडो बढ्ने र जनजीवन प्रभावित हुनसक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।