
सिरहा कारागार प्रकरणको अनुसन्धान गर्न बनेको छानबिन समितिले झण्डै डेढ महिनापछि अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
समितिले गत बिहीबार नै प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा बुझाएको छानबिन समितिका सदस्य तथा जिल्ला प्रशासन कार्यलयका सूचना अधिकारी रवीन्द्रकुमार महतले जानकारी दिनुभयो ।
सूचना अधिकारी महतका अनुसार अनुसन्धान प्रतिवेदन ९० पृष्ठको रहेको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल बिदामा रहेकाले आएपछि जिल्ला सुरक्षा समितिको बैठकमा प्रतिवेदन पेस गर्ने र प्रतिवेदन सार्वजनिक हुने महतले जानकारी दिनुभयो ।
गत कात्तिकमा कैदीहरूले कारागारभित्रै मदिरा सेवन गर्नेदेखि अवैध लागु औषध समेत कारोबार गर्ने गरेको सूचना बाहिरिएपछि सो सम्बन्धमा सम्बन्धमा अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीको नेतृत्वमा कात्तिक २५ गते पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो ।
छानबिन समितिमा जिल्ला प्रशासन र कारागार कार्यालयका प्रतिनिधिसमेत रहेका थिए ।
कारागारका मूल नाइके र अन्य कैदीले मदिरा खाँदै गरेको तथा मोबाइल चलाउँदै गरेको घट्ना प्रमाणसहित सञ्चारमाध्यममा सार्वजनिक भएको थियो ।
त्यस्तै कारागारमा पाँच गुणासम्म मूल्यमा लागुऔषध सहित बाहिर पाइने सबै कुरा उपलब्ध हुने जानकारी बाहिरिएको थियो । यस प्रकरणमा कारागार व्यवस्थापन विभागले तत्कालै जिल्ला प्रशासन कार्यालय सिरहालाई घटनाको छानबिन गरी संलग्नलाई कारबाही गर्न र कारागार कार्यालय सिरहालाई घटनाबारे प्रतिवेदन पठाउन लिखित रूपमा निर्देशन दिएको थियो ।