
तनहुँको दमौली अस्पताल ज्वरो र झाडापखालाका बिरामीले भरिभराउ हुन थालेको छ । वर्षायाम सुरु भएयता बिरामीको चाप बढ्दै गएको छ । एक सातादेखि ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या बढेको हो ।
असारदेखि हालसम्म ज्वरो र झाडापखालाका बिरामी दैनिक उपचार गर्न आउने गरेको अस्पतालका सूचना अधिकारी डा कमल भण्डारीले जानकारी दिनुभयो ।
अस्पतालमा दैनिक तीन सय ५० देखि चार सयसम्म बिरामी उपचारका लागि आउने गरेका र अधिकांश ज्वरो र झाडापखालाका बिरामी रहेको उहाँले बताउनुभयो ।
सूचना अधिकारी डा भण्डारीले डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने बताउनुभयो । डेङ्गुका बिरामीमा धेरै टाउँको दुख्ने, बान्ता हुने, पेट दुख्ने, सेतो रगतको मात्रा घट्ने, श्वास फेर्न गाह्रो हुनेलगायत लक्षण देखापर्ने गर्दछ । सामान्य अवस्था भएमा घरमा आराम गरेर पनि उपचार गराउन सकिने उहाँको सुझाव छ ।
त्यस्तै दैनिक १० देखि १५ जनासम्म झाडापखालाका बिरामी उपचार गर्न आउने गरेको पनि डा भण्डारीले जानकारी दिनुभयो ।