
भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ ।
मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरसँग अस्पतालले सम्झौता गरेसँगै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको हो ।
सोमबार भेरी अस्पतालमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा निराजन सुवेदीबीच मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
मन्त्री पौडेलले सबै सङ्घीय अस्पतालमा मानव अङ्ग प्रत्यारोपण सेवा विस्तार गर्ने सरकारको योजना रहेको जानकारी दिनुभयो ।
अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक डा श्रेष्ठले भेरी अस्पतालमा मिर्गौला सेवा सञ्चालनका लागि केन्द्रले आवश्यक जनशक्ति, प्रविधि र प्राविधिकलगायत सहयोग गर्ने बताउनुभयो ।
आगामी एक महिनाभित्र सेवा दिने तयारी भइरहेकाले यहाँका स्थानीय मिर्गौला प्रत्यारोपण गर्न बाहिरी जिल्ला, भारतका विभिन्न ठाउँमा जानुपर्ने बाध्यता अन्त्य हुने उहाँको भनाइ छ ।