
तनहुँ, पुस १० :
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका- १ आँधीखोलामा आज बिहान इँटा बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
ट्रक चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिनुभयो ।
डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा प्र ०१- ००१ य १६५९ नम्बरको स्करपियोलाई विपरीत दिशाबाट आउँदै गरेको ए २- ०३००- १ केएच २४४८ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
ठक्कर पश्चात् स्कारपियो सडकमै रहेको र ट्रक पुलकोबीच भागबाट खसेर दुर्घटनाग्रस्त भएको थियो । स्करपियोमा सवार चार जना सकुसल रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त ट्रकलाई क्रेनको सहायताले तानिएको थियो ।