
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीसँग नेपालका लागि जापानका कार्यवाहक राजदूत तामुरा ताकाहिरो सहित दूतावासका उच्च पदस्थ पदाधिकारीले भेटवार्ता गर्नुभएको छ ।
मंगलबार भएको भेटवार्तामा उहाँहरु बीचमा आपसी हित र द्विपक्षीय चासोका विषयमा कुराकानी भएको नगरपालिकाले जनाएको छ । सो अवसरमा नगरप्रमुख गिरीले नगरपालिकाबाट भए / गरेका कामका बारेमा राजदूतलाई सङ्क्षिप्त जानकारी गराउनुभएको थियो ।
उहाँले नगरपालिकाबाट भइराखेको फोहरमैला व्यवस्थापन, खानेपानी , रोजगारी सिर्जना, सूचना प्रविधिको उपयोग, भगिनी सम्बन्ध लगायतका विषयमा जापान सरकारबाट हुनसक्ने सहयोगका विषयमा पनि राजदूतलाई अवगत गराउनुभएको थियो ।
अवसरमा कार्यवाहक राजदूत ताकाहिरोले नगरप्रमुख गिरी सहित जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासीद्वारा नागढुङ्गा सुरुङमार्ग निर्माणका क्रममा भएको समन्वयकारी भूमिकाको लागि धन्यवाद दिनुभयो ।
उहाँले नगरपालिकाका अन्य क्षेत्रमा पनि हुनसक्ने साथ र सहयोगको लागि जापान सरकार तयार रहेको जानकारी दिनुभयो । सोही अवसरमा कार्यवाहक राजदूत ताकाहिरोले नगरपालिकाद्वारा आयोजित स्थानीय उत्पादन प्रदर्शनीको अवलोकन गर्नुभएको थियो ।
नगरपालिकाद्वारा प्रवर्धन गरिएका स्थानीय उत्पादन प्रदर्शनीमा हस्तकला, काष्ठकला, खानाका परिकार लगायत राखिएका थिए ।