जनकपुरधाम, पुस ११ :

सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धनुषाको ढल्केबरस्थित कृषिउपज बजारमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ स्थापना भएको छ । 

जिल्लाका विभिन्न स्थानबाट ढल्केबर बजारमा बिक्रीका लागि ल्याइने हरियो तरकारी तथा फलफूलमा हुनसक्ने विषादीको मात्रा जाँच गर्ने उद्देश्यले प्रयोगशाला स्थापना गरी आजदेखि सञ्चालनमा ल्याइएको हो ।

मन्त्रालय अन्तर्रगतका केन्द्रीय कृषि प्रयोगशालाद्वारा स्थानीयलाई विषादी रहित कृषिउपज उपलब्ध गराउने उद्देश्यले ढल्केबरमा उक्त प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको कृषिउपज बजार व्यवस्थापन समितिका अध्यक्ष बुधेश्वर महतोले जानकारी दिनुभयो ।

केन्द्रीय कृषि प्रयोगशाला प्रमुख शान्ता कार्कीले खेतबारीमा कति मात्रामा विषादी छर्कने र विषादी छर्केको कति दिनपछि तरकारी तथा फलफूल टिप्न मिल्छ भन्नेबारे जानकारीमूलक सूचना समयसमयमा दिइरहनुपर्नेमा जोड दिनुभयो ।

३५ प्रतिशत भन्दा कम विषादी प्रयोग भएको देखिएमा खानयोग्य मान्निछ, ३५ देखि ४५ प्रतिशत भएमा केही समय राखेर मात्र प्रयोग गर्नुपर्छ, ४५ प्रतिशतभन्दा बढी विषादी प्रयोग भएको देखिएमा अखाद्य मानिन्छ र त्यो वस्तु खानयोग्य हुँदैन ।

केन्द्रीय प्रयोगशालाको सहयोगमा ४० लाख लागतमा प्रयोगशाला निर्माणमा भएको हो ।