सुर्खेत, साउन २६ :

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले मानव उपयोगी वृक्षरोपण गर्न आग्रह गर्नुभएको छ । मध्यपश्चिम विश्वविद्यालयद्वारा आज वीरेन्द्रनगरको सुर्खेतस्थित बृहत् वृक्षरोपण कार्यक्रममा उहाँले सबै बिरुवा मानव उपयोगी नहुने भएकोले वृक्षरोपण गर्दा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

वनस्पति, फलफूल र औषधिजन्य गुण भएका बिरुवा लगाउँदा मानव स्वास्थ्यका लागि समेत लाभदायक हुने भएकाले त्यसले पर्यावरणीय सुन्दरताका साथै स्वस्थ वातावरण दीगो विकासमा सहयोग पुर्‍याउने उल्लेख गर्नुभयो ।

उहाँले प्रदेश सरकारले ‘मानव स्वस्थ प्रणालीका लागि हरित कर्णाली’ निर्माणको अभियानलाई अगाडि बढाएकोले यसमा सबै क्षेत्रको साथ सहयोग आवश्यक रहेको बताउनुभयो । 

मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक तेजबिक्रम बस्नेतले स्याउ, अनार, आँप, अम्बा, कागती, लिची, एभोकाडो, अङ्गुर, अशोक, रुख कटहर, बरपिपल, रुद्राक्ष, बाँस, अम्लिसोसहित १६ प्रकारका विरुवा लगाइएको जानकारी दिनुभयो  ।