
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विदेशिएका जनशक्तिलाई स्वदेश कसरी फर्काउने भन्ने विषय चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।
आजदेखि सुरू भएको नेपाल स्वास्थ्य सम्मेलनमा उहाँले विदेशिएका स्वास्थ्य क्षेत्रका जनशक्तिलाई स्वदेश फिर्ता गराउने विषय चुनौतीपूर्ण भए पनि सरकारले दक्ष जनशक्ति फर्काउन पहल गर्ने बताउनुभयो । विदेशिएका दक्ष जनशक्तिलाई स्वदेश फर्काउन सम्मेलन प्रभावकारी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
“उत्पादन भएका जनशक्तिलाई कसरी टिकाउन सकिन्छ भन्ने चुनौती छँदैछ,त्यसमाथि विदेशिएका जनशक्तिको दक्षता र अनुभवलाई कसरी उपयोग गर्ने र जोड्ने भन्ने चुनौती छ”,मन्त्री पौडेलले भन्नुभयो,“यो सम्मेलनमार्फत यसको विकल्प र योजनाका बारेमा छलफल भई निष्कर्ष निस्कन्छ भन्ने विश्वास छ ।”
मन्त्री पौडेलले मुलुकभित्र र बाहिर रहेका नेपालीहरूको साझा उदेश्य देश बनाउनु रहेकाले यसमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“विदेशमा रहेर पनि स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउनेसँग समन्वय अभावमा समस्या कहाँ छ ? फर्किएर नेपाल आउन के समस्या छ ?उहाँहरूको दक्षतालाई प्रयोग गर्न किन समस्या भयो ? यी विविध समस्याको पहिचान सम्मेलनले गर्ने आशा छ ।”
"नेपाल स्वास्थ्य सम्मेलन २०२४ : नेपालको स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन’ भन्ने नाराका साथ आयोजना गरिएको हो । सम्मेलन भोली सम्म चल्नेछ ।