ललितपुर, पुस १२ :

मुलुकभर दिन प्रतिदिन चिसो बढिरहेको छ ।

चिसो बढ्दै जाँदा यसले बिशेषगरी वृद्धवृद्धा,बालबालिका,दीर्घरोगीहरुलाई छिट्टो असर गर्ने गर्दछ ।

त्यसैले न्यानो कपडा लगाउने,घाम ताप्ने,आगो ताप्ने गर्नुपर्ने चिकित्सकहरु बताउछन् । अझ भन्नुपर्दा जाडोमा घाम प्यारो हुने गर्दछ ।

जाडोको बेलामा काठमाण्डौं उपत्यकाका खाली स्थान तथा फल्चाहरुमा बुढापाकाहरु घाम ताप्दै गफिदै गरेको देख्न सकिन्छ ।

सक्रियन्युजको टोली ललितपुरको केही सार्वजनिक खुल्ला ठाउँहरु तथा फल्चाहरुमा पुग्दा केही वृद्धवृद्धाहरु घाम तापिरहेका थिए । एकआपसमा गफिदै पनि थिए । हामीले उहाहरुसँग केही कुराकानी पनि गर्यों ।

जाडोको बेला खुल्ला ठाउँ वा फल्चामा बसेर घाम ताप्नका लागि बुढापाकाहरुलाई साह्रै आनन्द र रमाईलो हुने उहाँहरु बताउनुहुन्छ ।

घरबाट बाहिर निस्केपछि चहलपहल पनि हुने घाम पनि ताप्न पाईने भन्दै खुशी देखिनुहुन्थ्यो ।

कुरा गर्दै गर्दा केहीको प्रश्न थियो कि पेन्सन पाएपछि वृद्ध भत्ता पाईदैन किन ? भत्ता भनेको उमेर पुगेर पाउने हो । पेन्सन भनेको उमेर हुँदा गरेको दु:ख हो । त्यसैले यो दुई फरक कुरा भएको हुनाले पेन्सन पाएपनि वृद्ध भत्ता पनि दिनुपर्ने उहाहरुको भनाई छ ।

केहीले भने ६० बर्ष पुगेपछि वृद्ध भत्ता दिए राम्रो हुने बताउनुभएको थियो ।

ललितपुरमा यस्ता खुल्ला सार्वजनिक स्थल तथा फल्चाहरु १ सय ४७ भन्दा बढी रहेको बताईएको छ ।