भोजपुर, पुस १२ :

भोजपुरको बोखिममा जिप दुर्घटना हुदाँ घाइते भएका एक जनाको मृत्यु भएको छ । 

दुर्घटनामा परी घाइते भएका १० जनामध्ये गम्भीर अवस्थामा रहेका तीन जनालाई थप उपचारका लागि काठमाण्डौँ पठाइएको छ ।

भोजपुरबाट टेम्कैमैयुङ गाउँपालिकाको चखेवातर्फ जाँदै गरेको प्रदेश १- ०२- ००२ च ६९२३ नं को जिप आज बिहान भोजपुर नगरपालिका- ५, बोखिममा दुर्घटना हुँदा जिपमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । 

घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका- ७ का झम्कबहादुर घले रहेका उहाँले जानकारी दिनुभयो । 

गम्भीर घाइते भोजपुर नगरपालिका- ५ का लाक्पादिकी शेर्पा, सोही वडाका रामकुमार राई र सुनसरीको धरान उपमहानगरपालिका- २ का इहायाराना सुब्बालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाण्डौँस्थित केएमसी अस्पताल पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । अन्य घाइतेको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ ।