
शिक्षकको सरुवा गरेको भन्दै रौतहटको गरुडा नगरपालिका कार्यालयमा विद्यार्थीहरुले तोडफोड गरेका छन्।
शिक्षक सरुवाको विषयलाई लिएर नमुना माध्यमिक विद्यालय गरुडाका विद्यार्थीहरूले आज नगरपालिका कार्यालयमा तोडफोड गरेका हुन् । तोडफोडबाट क्षति पुगेको बताईएको छ ।
विद्यार्थीले गरेको ढुंगा प्रहारबाट एकजना नगर प्रहरी घाइते भएका छन्। घाइते भएका नगर प्रहरी हवल्दार रामनारायण साहको वीरगन्जमा उपचार भइरहेको नगरपालिकाले जनाएको छ।
विद्यार्थीहरूले ढुंगा प्रहार गरी नगरपालिका कार्यालयको अधिकांश कोठाको झ्यालको सिसा फुटाइदिएको छ । दुईवटा गाडी र दर्जनौं मोटरसाईकलमा समेत तोडफोड गरी क्षति पुर्याएका छन्।
नगरपालिकाले नमुना माध्यमिक विद्यालयका शिक्षक शिवशंकर झालाई माध्यमिक विद्यालय झाझपुलमा सरुवा गरेको भन्दै आक्रोशित विद्यार्थीहरूले शिक्षक झाको सरुवा रोक्नुपर्ने माग राख्दै नगरपालिका अगाडि दिउँसो बिरोध प्रदर्शन गरेका थिए ।
विरोध प्रदर्शन गर्दा गर्दै उनीहरुले नगरपालिका कार्यालय र गाडीमाथि तोडफोड गर्न उत्रेका थिए।
नमुना माध्यमिक विद्यालय गरुडाका प्रधानाध्यापक प्रभु राउत पटेल र सरुवा गरिएको शिक्षक शिवशंकर झाले विद्यार्थीलाई उचालेर आन्दोलन गराएको नगर प्रमुख जयसवालको आरोप छ।
प्रधानाध्यापक प्रभु राउत पटेलले आफूहरुले विद्यार्थीलाई उचालेर आन्दोलन गराएको मेयर जयसवालको आरोप गलत रहेको बताएका छन्।
आफूहरुले कुनै पनि विद्यार्थीलाई आन्दोलन गर्न नउक्साएको प्रधानाध्यापक पटेलको दावी छ।
शिक्षक झालाई सरुवा गर्दा विद्यार्थीहरु आफैं आक्रोशित भई नगरपालिका कार्यालयमा तोडफोड गरेको उनले बताए।
चार महिना अघि नमुना माध्यमिक विद्यालय गरुडामा कार्यरत रहेका शिक्षक झालाई नगरपालिकाले नियमसंगत नै माध्यमिक विद्यालय महमदपुर झाझपुलमा सरुवा गरेको थियो।
तर झाले पालिकाले गरेको सरूवालाई अटेरी गर्दै आएका थिए ।
सरुवा गरिएको ठाउँमा जान नमान्दा नगरपालिकाले शिक्षक झाको तलव भत्ता नै रोकिदिएको छ।
यस अघि शिक्षक सरुवा कै विषयलाई लिएर जिल्लाको देवाही गोनाहि नगरपालिकामा पनि विद्यार्थीहरूले तोडफोड गरेका थिए।