उदयपुर, पुस १३ :

कटारी नगरपालिका- ५ स्थित सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्रमा वन्यजन्तु उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना गरिएको छ । डिभिजन वन कार्यालय त्रिवेणीको स्वीकृतिमा केन्द्र स्थापना गरिएको हो ।

पर्यटन क्षेत्र व्यवस्थापन समितिका संयोजक दिलबहादुर अधिकारीका अनुसार केन्द्रमा सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुरमा फेलापरेका घाइते वन्यजन्तुको उद्धार गरिएको छ ।

कटारी डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत अनिरुद्ध साहले मदन भण्डारी राजमार्ग र आसपास जिल्लामा फेलापरेका घाइते वन्यजन्तुको उद्धारका लागि केन्द्र स्थापन गरिएको हो ।

यस केन्द्रलाई क्षमता विकास गर्नुपर्ने आवश्यकता रहेको प्रमुख साहको भनाइ छ । यसको विकासका लागि एक जनालाई जावलाखेलको चिडियाखानामा तालिम दिएर दक्ष उपचारकर्ता राख्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

अहिले भेटेनरीका डाक्टरबाट उपचार गराउने गरिएको र त्यसले मात्रै पनि पशुपक्षी बचाउन नसकिएको उहाँको भनाइ छ ।

पर्यटकीय क्षेत्र रहेको सिमसार क्षेत्रमा वन्यजन्तु राखिएकाले यसले पर्यटकलाई समेत आकर्षित गर्ने गरेको वडाध्यक्ष मोहन तामाङले बताउनुभयो ।

वन कार्यालयको सहयोगमा केन्द्र स्थापना गरेपछि यसले पर्यटनको विकासमा पनि साथ पुगेको वडाध्यक्ष तामाङको भनाइ छ ।