तनहुँ, पुस १३ :

राष्ट्रिय एकता दिवसका अवसरमा ऋषिङ गाउँपालिकाको आयोजनामा ‘चौथो ऋषिङ अल्ट्रा म्याराथन’ हुने भएको छ । 

खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गाउँपालिकाले म्याराथन आयोजना गर्न लागेको हो ।

पुस २७ गते ४३ किलोमिटर म्याराथन हुने गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । म्याराथनको तयारी थालिएको उहाँले बताउनुभयो । 

धारुङ भञ्ज्याङबाट सुरु हुने दौड रानीपोखरी- गाउँपालिकाको कार्यालय- अर्खलाछाप- काफलडाँडा-  पुरानो ऋषिङ- पोखरीभञ्ज्याङ- गोठादी- ढुङ्गाडे-चालिसे- भिरकोट- अर्चल्दी- मौरीबास- दाङसिरी- दुवुङकोटमा टुङ्गिनेछ । 

प्रतियोगितामा प्रथम हुनेलाई ६५ हजार, द्वितीय हुनेलाई रु ४० हजार तृतीय हुनेलाई रु २५ हजार र एक जनालाई सान्त्वना पुरस्कार रु दश हजार प्रदान गरिनेछ ।