बागलुङ, पुस १४ :

नेपाल विद्युत् प्राधिकरण बागलुङले जिल्लाको दूरदराजसम्म केन्द्रीय प्रसारण लाइन विस्तार गर्न थालेको छ ।

हिलेसम्म केन्द्रीय लाइन नपुगेको पश्चिम बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनमा प्रसारण लाइन विस्तार गर्न थालिएको हो । 

अघिल्लो वर्षदेखि नै विकट गाउँमा केन्द्रीय प्रसारण लाइन जोड्न थालिएको विद्युत् प्राधिकरण बागलुङका प्रमुख पवन पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको अधिकांश ठाउँ केन्द्रीय लाइन पुगेको छ । बडिगाड ४० र ताराखोलामा ६० प्रतिशत बस्तीमा लाइन पुगिरहेको उहाँको भनाइ छ । 

जिल्लाका ६५ प्रतिशत नागरिकले केन्द्रीय प्रसारण लाइन बाल्न पाएको भन्दै अन्यले स्थानीय लघु जलविद्युतको प्रयोग गर्दै आएको प्रमुख पौडेलले बताउनुभयो । बागलुङको निसेलढोर बाहेक सबै ठाउँमा विद्युत्को पहुँच पुगेको छ ।

चालु आर्थिक वर्षमा बागलुङ जिल्लाभर केन्द्रीय विद्युत् विस्तारका लागि १४ करोड लागतमा नौवटा ठेक्का लगाएर काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा ९८ वटा लघु जलविद्युत् आयोजना छन् । जसबाट धेरै नागरिक लाभान्वित भए पनि निसीखोला गाउँपालिका- ६ निसेलढोरमा भने अहिलेसम्म लघु जलविद्युत् र केन्द्रीय प्रसारण लाइन कुनै पनि पुग्न सकेको छैन ।

विद्युत् नहुँदा बत्ती बाल्न, मोबाइल चार्ज गर्न र साना तथा मझौला उद्योग सञ्चालन गर्न नपाएको स्थानीय सम्झना रसाइलीले गुनासो पोख्नुभयो ।