
हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।
अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।
काठमाण्डौँ उपत्यकाको आकाशमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थान लगायत कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
आज राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै कर्णाली प्रदेश र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।