मनाङ, पुस १५ :

हिमाली जिल्ला मनाङमा अत्यधिक चिसो बढ्दै गएको छ । चिसोका कारण फोहरमैला व्यवस्थापन गर्न कठिन भएको छ ।

सदरमुकामस्थित चामे गाउँपालिकाले अत्यधिक चिसोका कारण दैनिक रूपमा उठाउँदै आएको फोहरमैला उठाउन नसक्ने जनाएको छ । 

अध्यधिक चिसो र हिमपात हुँदा जाडो छल्न जिल्लामा स्थानीय नबस्ने हुँदा फोहर सङ्कलन नगरिने सूचना जारी गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नमनारायण मल्लले जानकारी दिनुभयो । 

उहाँका अनुसार चिसोका कारण स्थानीय जाडो छल्न बेँसी झर्ने क्रम बढेसँगै फोहोरमैला कम निस्कने भएकाले सङ्कलन रोकिएको हो । 

“अर्को सूचना जारी नहुँदासम्म फोहोरमैला उठाउने कार्य स्थगन गरिएको छ”, उहाँले भन्नुभयो, “साथै सो अवधिमा घरबाट निस्किएका फोहरमैला खोला, सडक र सार्वजनिक स्थानमा जथाभावी नफाली उचित व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।”

अत्यधिक चिसो भएपछि माथिल्लो भेगका प्रहरी चौकी र बैङ्कले सदरमुकाम केन्द्रित भइ सेवा प्रवाह गर्दै आएका प्रमुख जिल्ला अधिकारी  मात्रिका आचार्यले बताउनुभयो ।

उहाँका अनुसार नार्पाभूमिको दुईवटा प्रहरी चौकी र बैङ्क सेवा प्रवाहका लागि सदरमुकाम सारिएको छ भने माथिल्लो मनाङ गाउँको प्रहरी चौकी मनाङ ङिस्याङ गाउँपालिका- ४ हुम्डेमा सारेर सेवा प्रवाह भइरहेको छ । 

चिसोका कारण माथिल्लो भेगका अधिकांश स्थानीय जिल्ला बाहिर गइसकेका छन् भने तल्लो भेगका चामे लगायतका स्थानीय बाहिर जाने क्रममा रहेको प्रजिअ आचार्यले बताउनुभयो । 

स्थानीय बाहिरिएको अवस्थामा फोहरमैला कम निस्कने भएकाले सङ्कलन र व्यवस्थापनका काम रोकिएको उहाँले बताउनुभयो ।