पर्सा, पुस १५ :

तत्कालीन ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक पर्सागढी अतिक्रमणमा परेको छ ।

पुरातात्विक सम्पदामा स्थानीय, प्रदेश र सङ्घीय तीनवटै सरकारको ध्यान नपुग्दा स्थानीयको अतिक्रमणमा परेको हो ।

पर्सागढी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वृजमोहन चौधरीले गोर्खाली सेनाले तत्कालीन ब्रिटिस सेनालाई हराएको ऐतिहासिक पर्सागढीको जङ्गल क्षेत्र स्थानीय जनताले कब्जा गरेर आफ्नो नाममा ल्याएको बताउनुभयो ।

पर्सागढीको ५० बिघाभन्दा अधिक क्षेत्रफलमा वन फैलिएको  थियो । स्थानीयको अतिक्रमणले हाल एक बिघा दुई कट्ठामा सीमित भएको अध्यक्ष चौधरीको भनाई छ ।

जग्गा फिर्ता ल्याउने कोसिस गरे पनि त्यसमा सफल नभएको बताउनुभयो । उहाँले आफ्ना सातौँ पुस्ताका अग्रज रञ्जित चौधरीले गोर्खाली सेनासँग मिलेर ब्रिटिस फौजसँग युद्ध जितेको ऐतिहासिकस्थल भावी पुस्ताका निम्ति संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । 

पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले ऐतिहासिक युद्धस्थल पर्सागढीको अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याउने तयारीमा जुटेको जानकारी दिनुभयो । 

पर्सागढीको बृहत्तर गुरुयोजना बनाएर व्यवस्थित गर्न जरुरी भएको उहाँले  बताउनुभयो । 

यस्तो छ इतिहास
विसं १८७१ पुस १८ र १९ गते नेपाल र ब्रिटिस इष्ट इन्डिया कम्पनी फौज पर्सागढीमा युद्ध भएको थियो । अङ्ग्रेज फौजको नेतृत्व मेजर जनरल मार्ले अन्तर्गतका कप्तान सिब्लीले गरेका थिए भने नेपाली फौजको नेतृत्व भने रञ्जित चौधरीले गरेको बताइन्छ ।

पर्सागढीको युद्धमा सक्रिय भूमिका निर्वाह गरेका रञ्जित चौधरीका कूलदेवता वन्हरबाबाको मन्दिर निर्माण गरिएको छ । पर्सागढी मन्दिर परिसरमा धर्मशाला पनि सञ्चालनमा छ । समितिका अध्यक्ष चौधरीले पुराना हतियार पनि सङ्ग्रह गरिए पनि सङ्ग्रहालय निर्माण गर्न नसकिएको बताउनुभयो ।

ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक युद्धस्थलमा बर्सेनि विजय महोत्सव हुने गरेको छ । 

यस वर्ष पनि उक्त दिनको स्मरण गर्दै  यही पुस १९ गते पर्सागढी २१०औँ विजय महोत्सव आयोजना हुँदैछ । पर्सागढी मन्दिर व्यवस्थापन समिति, नेपाली सेनाको श्रीजङ्ग गण, पर्सागढी नगरपालिकाको सहकार्यमा महोत्सव हुनेछ ।