
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदका माध्यमबाट समृद्ध मुलुक र सशक्त समाज निर्माणमा योगदान पुग्ने बताउनुभएको छ ।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा आजदेखि पोखराको फेवातालमा सुरु भएको ‘दोस्रो ड्रागन बोट रेस फेष्टिभल’ को उद्घाटन गर्दै उहाँले खेलका माध्यमबाट विभिन्न देश र समुदायकाबीचमा एकता र सद्भाव कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपालको प्रमुख पर्यटकीय साझेदार राष्ट्रका रूपमा चीन रहेको उल्लेख गर्दै मन्त्री चौधरीले यस प्रतियोगिताका माध्यमबाट पोखरासहित नेपालको पर्यटन प्रवर्द्धन र विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गर्नुभयो ।
नेपाल र छिमेकी मुलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्धलाई सशक्त बनाउन प्रतियोगिता सफल बन्ने उल्लेख गर्दै उहाँले सहभागी सबै प्रतियोगीलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
पोखरालाई खेलकुदको क्षेत्रमा अघि बढाउने किसिमबाट कामहरू भइरहेको बताउँदै मन्त्री चौधरीले सन् २०२७ मा हुने यू–१९ महिला क्रिकेट विश्वकपमा पोखरा पनि छानिएकाले आगामी आर्थिक वर्षमा खेलकुदसम्बन्धी पूर्वाधार विकास, खेलाडीलाई तालिमलगायत क्षेत्रमा बजेट विनियोजन गरिने जानकारी दिनुभयो ।
नेपालका लागि चिनियाँ राजदूत छन सोङले सुन्दर पोखराको फेवातालमा आयोजित ड्रागन बोट रेस फेष्टिभल दुई देशको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो ।
चिनियाँ नागरिकका लागि पोखरा प्रमुख गन्तव्यका रूपमा रहेको भन्दै उहाँले यस वर्षको ड्रागन बोट रेसमा अघिल्लो वर्षको तुलनामा खेलाडीको सहभागिता तेब्बरले वृद्धि भएको जानकारी दिनुभयो । महोत्सवले पोखरालाई चिन्न र बुझ्न अझै सहयोग पुग्ने उहाँको भनाइ छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रकृति, कला र संस्कृतिले सम्पन्न पोखरा पर्यटन राजधानी रहेकाले बृहत् पोखराको अवधारणाका साथ यहाँको पर्यटकीय विकासमा विविध गतिविधि सञ्चालन गर्न थालिएको बताउनुभयो ।
सन् २०२५ लाई पोखरा भ्रमण वर्षका रूपमा मनाइने बताउँदै नगरप्रमुख आचार्यले चीनका विभिन्न सहरबाट पोखरामा सिधा उडान सञ्चालनका लागि चिनियाँ सरकारलाई आग्रह गर्नुभयो ।
सोमबारसम्म सञ्चालन हुने दोस्रो संस्करणको ‘नेपाल- चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ मा नेपाल, चीन र सिङ्गापुरका २० टोली सहभागी छन् ।
प्रतियोगितामा सहभागिताका लागि चीनको छेन्दुबाट विमान चार्टर गरी एक सय २९ जना खेलाडी यही पुस ११ गते पोखरा आइसकेका छन् ।
प्रतियोगितामा चीनको आठ, सिङ्गापुरको एक र बाँकी ११ टोली नेपालका विभिन्न ठाउँबाट सहभागी हुने जनाइएको छ ।
प्रतियोगितामा पाँच सय सय र दुई सय मिटर दौडका विजेता टोलीलाई पाँच हजार अमेरिकी डलर, उपविजेतालाई दुई हजार डलर र तृतीय हुने टोलीलाई एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।