
काठमाण्डौँ , पुस १५ :
काठमाण्डौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले काठमाडौँको कोटेश्वरबाट नौ एमएमको पेस्तोलसहित आज एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका- ३२ स्थित नरेफाट बस्ने ३३ वर्षीय सनराइज खड्का रहेको काठमाण्डौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।
कोटेश्वर क्षेत्रमा हतियारको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा टोलीले होटल विश्पुलबाट खड्कालाई पक्राउ गरेको उहाँले बताउनुभयो ।
पक्राउ परेका खड्काको साथबाट प्रहरीले एक थान नौ एमएमको पेस्तोल, त्यसमा लाग्ने एक थान म्याग्जिन र नौ राउन्ड गोली समेत बरामद गरेको जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले बताउनुभयो ।