काठमाण्डौँ , पुस १६ :

सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइँदै छ ।

आजका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । पौष कृष्ण औँशीका दिन आज परे जस्तै सोमबारे औँशी वर्षमा तीनदेखि चार वटासम्म पर्ने गरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।  

यसरी स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विभिन्न ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रका आचार्य तोयराज नेपालले बताउनुभयो ।

औँशी तिथि श्राद्ध, तर्पणको लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँशी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीय रुपमा उचित रहेको जनाइएको छ । प्रत्येक महिनामा आउने औँशीलाई पनि विशेष पर्वका रुपमा मनाउने वैदिक परम्परा छ ।

माता, पिता नहुनेले औँशी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दान लगायत गरी मनाउँछन् । यसका लागि सोमबार परेको औँशी विशेष मानिन्छ । 

त्यसैगरी आजै प्रत्येक वर्ष चान्द्रमासअनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध विधिपूर्वक गरिँदै छ ।

दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदा दान र पिण्डदान गरी श्राद्ध गरिन्छ । पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका पूर्व सहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिनुभयो ।