
मोतिहारी अमलेखगञ्ज पाइपलाइन परियोजना दोस्रो चरणको निर्माण सम्पन्न भएसँगै बरौनी- अमलेखगञ्जमा पेट्रोल तथा मट्टितेल ढुवानी गर्दै आइरहेका एक सय चारवटा ट्याङ्कर विस्थापित हुने भएका छन् ।
आयल निगमले पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाटै ल्याउने भएसँगै एक सय चार टैक- ट्र्याङ्करको व्यवस्थापनको विषय पेचिलो बन्दै गइरहेको छ ।
सम्भवत पाइपलाइनबाट नियमित रुपमा पेट्रोल र मट्टितेल ल्याउने कामको सुरुवात पनि यही पुस महिनाभित्रै हुने जनाइएको छ । बरौनीदेखि अमलेखगञ्जसम्म पेट्रोल तथा मट्टितेल ढुवानी गर्दै आइरहेका तीन सङ्गठनले तत्कालै आफूहरूको उचित व्यवस्थापन गर्नुपर्ने माग राख्दै आइरहेका छन् ।
बरौनीबाट अमलेखगञ्ज पेट्रोलियम पदार्थ ढुवानी गर्दै आइरहेका अमलेखगञ्जका पेट्रोलियम ढुवानी व्यवसायी तथा मजदुर सङ्गठनले यही पुस २४ गतेसम्म आफूहरुलाई उचित व्यवस्थापन हुनुपर्ने माग गरेका छन् ।
अमलेखगञ्जका पेट्रोलियम ढुवानी व्यवसायी सङ्घका अध्यक्ष सुदामाप्रसाद साह कानुले तीनवटै सङ्गठनले बरौनी- अमलेखगञ्ज रुटमा चल्ने एक सय चार ट्र्याङ्कर तथा ट्रकको उचित व्यवस्थापन गर्ने, निजी ढुवानी ट्रैक- ट्रकको व्यवस्थापन गर्ने र एक थान ट्रक धनी व्यवसायीलाई करार सम्झौता कायम गर्नुपर्ने लगायतका माग राखेको जानकारी दिनुभयो ।
आइतबारदेखि आन्दोलन गर्ने कार्यक्रम सार्वजनिक गरेको तर मागको सम्बन्धमा आयल निगमबाट पत्र आएकाले १० दिनको लागि स्थगन गर्ने निर्णय गरेका उहाँले बताउनुभयो ।
अमलेखगञ्ज पेट्रोलियम ढुवानी व्यवसायी सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन इकाई अमलेखगञ्ज र नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घ ईकाइ अमलेखगञ्ज लगायतले आयल नियमले आफ्नो जायज माग पूरा नगरेको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
नेपाल आयल निगम प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलङ्कर आचार्यले ढुवानी व्यवसायीले राखेका माग प्रादेशिक कार्यालयले सम्बोधन गर्न नसक्ने खालका रहेको जानकारी दिनुभयो ।