मुगु, पुस १६ :

कर्णाली राजमार्गको सातमोडमा हिउँ जमेपछि सडक अवरुद्ध भएको छ ।

हिउँ जमेका कारण जिल्ला सदरमुकाम गमगढीबाट नेपालगञ्जतर्फ जाँदै गरेका तीनवटा यात्रुबाहक बस अलपत्र परेका छन् । सडकमा हिउँ र बरफ जमेका कारण बस फसेपछि नेपालगञ्ज जाने यात्रुबीच सडकमै अलपत्र परेका हुन् ।

सडकमा जमेको बाक्लो हिउँ र बरफले गाडी अघि बढ्न नसक्दा सबै यात्रु रातभर जागै बस्नुपरेको एक यात्रु राज्यलक्ष्मी बमले बताउनुभयो ।

“पुसको कठ्याङ्ग्रिँदो जाडोमा रातभर गाडीभित्र भोकै बस्यौँ, उद्धार गर्ने कोही भएन”, उहाँले भन्नुभयो, “चिसोले बालबच्चा, बिरामी र बूढाबूढी समस्यामा छन् ।” उद्धारका लागि हारगुहार गरे पनि सुनुवाइ नभएको उहाँले फोन मार्फत बताउनुभयो ।

हिउँ जमेकाले सातमोडमा गमगढी आउने र गमगढीबाट गएका सवारी साधन आइतबारबाट रोकिए पनि आज मध्यान्हदेखि सडक डिभिजनका कर्मचारी र स्काभेटरले हटाएपछि सडक सुचारु भइसकेको रारा छायानाथ यातायात प्रालिका सचिव सन्तोष शाहीले बताउनुभयो ।

कर्णाली राजमार्गको यो खण्ड घुच्चीलेक तथा रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएर जाने भएकाले हिमपात र वर्षाका बेला रूख ढलेर बेलाबेलामा सडक अवरुद्ध हुने गरेको छ ।