महोत्तरी, पुस १७ :

पछिल्ला दिनमा चिसो स्याँठ चल्न थालेपछी मधेसको जनजीवन प्रभावित बनेको छ ।

जलेश्वर नगरपालिका- ८ का ८० वर्षीय बहादुर महरा केही दिनदेखि चिसो स्याँठ चल्न थालेको र चिसो बढेको बताउनुभयो ।

शीतलहर, बाक्लो कुहिराका कारण चौपाया, पशुपक्षी तथा बालीनालीलाई असर पुर्‍याएको छ । जलेश्वर- ४ का किसान अनिल साहले शीतलहरले दैनिकीमा समस्या परेको गुनासो गर्नुभयो । चिसोकै कारण अहिले सदरमुकाम जलेश्वरसहित जिल्लाका सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ । 

जिल्लाको विभिन्न बजारमा बाक्लो कपडा बिक्री बढेको छ भने चिसोकै कारण जिल्लाको हाटबजारमा मानिसको उपस्थिति न्यून भएको छ । चिसो बढेपछि चियाको व्यापार बढेको जलेश्वर- २ का चिया व्यापारी सुरेश साहले बताउनुभयो ।  

चिसोकै कारण स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीको सङ्ख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् । लगातार बढ्दै गएको चिसोले बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिला बढी प्रभावित हुने डा रवीन्द्र साहले जानकारी दिनुभयो ।

चिसोका कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरीमा रुघाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्ने लगायत समस्या देखिएको उहाँले बताउनुभयो । दश नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लाका विभिन्न गाउँबस्तीमा जाडोबाट बच्न ठाउँठाउँमा स्थानीय तहले आगो बालेर ताप्ने व्यवस्था मिलाएका छन् । 

जलेश्वर-११ का किसान उमेश मण्डले चिसोबाट दलहन, तेलहन र तरकारी बालीमा प्रतिकूल असर परिरहेको गुनासो गर्नुभयो । उहाँले मसुरो, खेसारी, आलस, रहर लगायत दलहन र तेलहन बाली, काउली, गोलभेँडा, मटर लगायत तरकारी बाली प्रत्यक्ष रूपमा चिसोबाट प्रभावित भएको बताउनुभयो ।