
समुदायका महिला र विद्यालयका कर्मचारीलाई पाठेघरको मुखको क्यान्सर जाँच (स्क्रिनिङब) गरी यसको प्रारम्भिक पहिचान, सचेतना तथा समयमै रोकथाममा सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
मेरीस्टोप्स इन्टरनेशनलको सहकार्यमा रोटरी क्लबसँग आबद्ध महिला समूहद्वारा तारकेश्वर नगरपालिका- १० स्थित मनमैजुमा आयोजित शिविरमा एक सय १० महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गरिएको थियो भने विद्यालयमा अध्यययनरत एक सय ५० छात्रालाई पाठेघरको मुखको क्यान्सरविरूद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोपको महत्व एवं सचेतना गराइएको थियो ।
‘भिजुअल इन्स्पेक्सन विथ एसेटिक एसिड’ (भिआइए) विधिबाट स्क्रिनिङ गरिएका मध्ये चार महिलाको नतिजा पोजेटिभ देखिएको थियो । ती महिलालाई आवश्यक परामर्श दिएर क्यान्सर अस्पताल भक्तपुर एवं भरतपुर ‘रेफर’ गरिएको थियो ।
शिविरिमा वरिष्ठ स्त्रीरोग विशेषज्ञद्वय डा कस्तुरी मल्ल र डा विमला लाखे तथा नर्सद्वय विष्णुदेवी श्रेष्ठ र कल्याणी श्रेष्ठले सेवा प्रदान गर्नुभएको थियो ।
शिविरले समुदायमा आधारित स्वास्थ्य पहलको महत्व र महिलाको स्वास्थ्य सुधार गर्न विशेषगरी पाठेघर मुखको क्यान्सरजस्ता स्वास्थ्य समस्यामा साझेदारीको भूमिकालाई उजागर गरेको जनाइएको छ ।
संयुक्त प्रयासले पाठेघरको क्यान्सर क्यान्सर रोकथामसम्बन्धी सचेतना वृद्धि गर्नुका साथै यसको महत्वलाई पनि जोड दिएको आयोजकले जनाएका छन् ।
सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेबाट खोप अभियान सञ्चालन गर्दैछ ।
पन्ध्र दिनसम्म चल्ने अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई खोप लगाइने बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभयो ।
पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकाले त्यसविरुद्ध खोप लगाउनुपर्ने हुन्छ ।