
नेपालमा कम्युनिष्ट आन्दोलनलाई एकिकृत गर्ने प्रयास समय समयमा भएपनि असफल प्राय: भएका छन । बरु नेपाली कम्युनिष्ट आन्दोलन विभाजनको कोपभाजनमा भने पटक पटक पेरको छ ।
यो प्रसंग यतिखेर फेरि एकाएक किन चर्चामा छ भने, एमालेले आफ्नो पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीबाट निष्काशन गरेपछि राजनीतिक तरंगहरु आएका छन र यसमा थप तरंग ल्याउने काम बामदेव गौतमको पछिल्लो अभिव्यक्तिले पनि गरेको छ।
रावल पार्टीबाट हटेपछि नयाँ पार्टी बनाउने गृहकार्यमा छन ।
यसका लागि भोलि रावलले पत्रकार सम्मेलनको आयोजना गरेका छन ।
गैर बामपन्थी पार्टी बनाउने चर्चा जति चलेको छ उती नै पुराना कम्युनिष्ट पार्टीसँग मिलेर अर्को पार्टी बनाउने सम्भावना पनि कायमै छ।
अर्कोतिर हिजोमात्र एकिकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर एमालेभन्दा एकिकृत समाजबादी पार्टी ठूलो बनाउने उद्घोष गरेका बामदेव गौतम पनि यतिखेर राजनीतिक भेटघाटमा व्यस्त छन ।
रावल र गौतम एउटै मोर्चामा अटाउन चाहिँ कति सक्लान थाहा छैन तर दुबै नेताले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हेर्ने दृष्टिकोण भने अत्यन्तै नकारात्मक छ ।
सार्वजनिक समारोहमा नै ओलीको विरुद्ध खनिने गरेका यी नेताहरु एजेण्डामा एउटै ठाउँमा भने आउन सकेका छैनन ।
यी दुबै नेतालाई माधवकुमार नेपालले एउटै कित्तामा उभ्याउन सक्लान या फेरि एमालेकै विरुद्ध अर्को नयाँ पार्टीको जन्म होला भन्ने चाहिँ हेर्न बाँकी छ।
त्यसो त ऐनबखत सबै बामपन्थी शक्तिको एकिकरण गर्ने भन्दै अभिव्यक्ति दिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यी सबै टुक्रिएका र कारवाहीमा परेका बामपन्थी नेताहरुलाई एउटै साझा मञ्चमा उभ्यान सक्लान भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ ।
हिजो मात्र ओलीको गृह जिल्ला पुगेर ओलीकै ध्वज्जी उडाएका प्रचण्डले सानासाना घटकहरुलाई जोड्दै अन्तिममा एमालेमाथि एकिकरणको दवाव नदेलान भन्न सकिन्न ।
प्रचण्डको भनाइमा अर्को निर्वाचनमा बाम एकता गरेरै भएपनि माओवादी सबैभन्दा ठूलो पार्टी बन्नेछ । तर यो व्यवहारिक रुपमा कति सम्भव छ, त्यो भविष्यले नै देखाउला ।