चितवन, पुस १७ :

गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । 

रत्ननगर नगरपालिका- १३ जयमङ्गलामा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको हो । स्थानीय जङ्गलबाट गैँडा बस्तीमा प्रवेश गरेपछि घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

मृत्यु हुनेमा रत्ननगर- १६ बस्ने ७० वर्षीया कृष्णाकुमारी थापा रहेकी छिन् । दिउँसो पौने २ बजे गैँडाको आक्रमणबाट गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

गैँडाको आक्रमणबाट अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा मृतक थापाका श्रीमान् ७८ वर्षका डम्बरबहादुर थापा, रत्ननगर- १२ का ७२ वर्षका चेतनाथ चौलागाई वडा नं १२ कै ३९ वर्षीया सीता पोखरेल, २५ वर्षीया पुजन बिक, रत्ननगर- १४ की ६० वर्षीया मीना गुरूङ रहेका छन् । 

घाइतेको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।