
माइती नेपालले सन् २०२४ मा नेपालगञ्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका पाँच सय ९८ जनाको उद्धार गरेको छ ।
नेपाल पत्रकार महासङ्घ बाँके शाखाको आयोजनामा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सञ्चारकर्मीसँगको मङ्गलबार भएको अन्तरक्रियामा माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले सन् २०२४ मा भारतलगायत विभिन्न देशमा जोखिमपूर्ण यात्रामा निस्केका महिला तथा बालिकाको उद्धार गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार काम, विवाह, घुमघाम, किनमेल लगायतको बहाना बनाएर नाका पार हुन थालेका शङ्कास्पद व्यक्तिलाई केरकार गर्दा जोखिमपूर्ण यात्रामा रहेको पाइएपछि उनीहरूलाई नेपाल फिर्ता गरिएको हो ।
संयोजक कोइरालाले एक वर्षमा सात सय ७७ जनाको खोजतलासको निवेदन परेको र चार सय सात जना फेला परेको बताउनुभयो ।
भारत तथा तेस्रो मुलुकमा पुगेकाहरु सम्पर्कमा नआएपछि आफन्तीले खोजतलासको निवेदन दिने गर्दछन् । संयोजक कोइरालाले सन् २०२४मा खोजतलासको निवेदन धेरै पर्नेमा बाँके जिल्ला अगाडि रहेको जानकारी दिनुभयो ।
जोखिमपूर्ण यात्रा गर्दै नाका पार हुनेहरूमा प्रायः जसो लुम्बिनी प्रदेश र कर्णाली प्रदेश गरी सुर्खेत, बर्दिया, दाङ, जाजरकोट, दैलेख जिल्ला रहेका छन् ।
सामाजिक सञ्जालको दुरुपयोग गरेर दलालहरू बेचविखनमा सक्रिय रहेको उल्लेख गर्दै संयोजक कोइरालाले तीनै तहका सरकारसँग समन्वय गरेर मानव बेचबिखन नियन्त्रणसम्बन्धी काम गरिरहेको बताउनुभयो ।
माइती नेपालले मानव बेचबिखन नियन्त्रणका लागि सीमा नाकामा चेकजाँच गर्नुका साथै भारतलगायतका मुलुकमा बेचिएका र बेचबिखनको जोखिममा परेका महिला तथा बालबालिकालाई उद्धारका निम्ति काम गर्दै आएको छ ।