म्याग्दी, पुस १८ :

मालढुङ्गा- बेनी सडक अन्तर्गत माझीबस्ती- खनियाघाट खण्डमा कालोपत्र भएको छ ।

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी- जोमसोम- कोरला सडक आयोजना मार्फत यो खण्ड कालोपत्र भएको हो । 

कुश्मा नगरपालिका- १ माझीबस्तीबाट जलजला गाउँपालिका- ८ खनियाघाटसम्म दुई किलोमिटर कालोपत्र भएको हो । 

तेह्र किलोमिटर लामो बेनी- मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न ५२ करोड ८६ लाखमा निर्माण व्यवसायीसँग सम्झौता भएको आयोजनाका सब इञ्जिनियर सोहनजङ्ग कार्कीले बताउनुभयो ।

विभिन्न स्थानमा दुई किलोमिटर ढलान भइसकेको सडकको थप आठ किलोमिटर क्षेत्रमा पनि विस्तार,  ‘सवबेस’, ‘बेस’ राख्ने र ‘ग्रेडिङ’ जारी छ । 

यसैबीच, बागलुङको गलकोटबाट रासस प्रतिनिधिले सम्प्रेषण गरेको समाचारअनुसार बोक्से- सिगाना सडक पनि धमाधम कालोपत्र भइरहेको छ । 

दश किलोमिटर सडक मध्ये पहिलो चरणमा छ किमी कालोपत्र गर्न बोक्सेबाट काम सुरु भएको हो । आगामी चैतसम्ममा छ कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ  धमाधम काम भइरहेको छ । 

दश किलोमिटर कालोपत्र गर्न २९ करोड ३७ लाख ८८ हजारमा ठेक्का सम्झौता भएको हो ।