बागलुङ, पुस १८ :

परियार समुदायको पुर्ख्यौली पेसाका रुपमा पन्चैबाजा हिजोआज अन्य समुदायले पनि बजाउन थालेका छन् । 

गाउँ तथा सहरमा बिस्तारै पन्चैबाजा बचाउने प्रचलन हराउन थालेपछी बागलुङमा महिला र मगर समुदायका युवाले संरक्षणमा चासो दिएका हुन् । 

युवा शक्ति विदेश पलायन भएपछि सङ्कटमा पर्न थालेको पन्चैबाजा बजाउने प्रचलन पछिल्लो समय संरक्षण भइरहेको छ । अहिले महिला समूहले समेत बाजा बजाउन थालेका छन् । 

पन्चैबाजा बजाउने चलन लोप हुन थालेपछी महिलाहरू यसको संरक्षणमा लागेको बागलुङ नगरपालिका- ३ देउरालीचोक आमा समूहकी अध्यक्ष सरिता थापा मगरले बताउनुभयो । 

विवाह, व्रतबन्ध र अन्य सार्वजनिक कार्यक्रममा बाजा बजाउने कोही नहुँदा आफूहरुले बजाउन थालेको उहाँको भनाइ छ । पहिले गाउँमा धेरै समूहले बाजा बजाए पनि अहिले कोही नभएको उहाँले उल्लेख गर्नुभयो । 

दुई वर्ष अगाडिदेखि बाजा बजाउन सिकेका महिलाहरूले अहिले यसैबाट आम्दानी समेत गर्न थालेका छन् । सुरुमा गाउँका पन्चैबाजा समूहबाट सिकेका उनीहरूले एक लाख ५० हजारमा बाजा सेट खरिद गरेर व्यावसायिक रुपमा बजाउन थालेका हुन् । 

एउटा विवाहबाट ३० हजारदेखि ५० हजारसम्म लिने गरेको पन्चैबाजा समूहकी सदस्य कला श्रीसले जानकारी दिनुभयो । विवाहको याममा बागलुङका ग्रामीण क्षेत्रदेखि ठूला- ठूला सहरसम्म बाजा बजाउन जाने गरेको उहाँको भनाइ छ ।