पर्सा, पुस १८ :

ग्रेगोरी पात्रोअनुसार इस्वी वर्षको पहिलो महिनाको पहिलो दिन आज ठोरी भारतीय पर्यटकले खचाखच भरिएको छ । 

ठोरीमा छिमेकी मुलुक भारतका साथै स्वदेशी पर्यटकको आगमन बढेको छ । ठोरी जङ्गल रिसोर्टका सञ्चालक धिर सिंहले नयाँ वर्षका अवसरमा भारतीय पर्यटकले ठोरीका होटल खचाखच भरिएका बताउनुभयो ।

ठोरीका अधिकांश होटल भरिएका छन् । पछिल्लो समय ठोरी बाह्रैमास व्यापार हुने पर्यटकीय गन्तव्य बनेको छ । भारतीय मात्र होइन, पर्सा आसपासका स्वदेशी पर्यटक पनि ठोरी पुग्ने गरेका छन् । 

ठोरीमा राईधारा, सेतो पहाड, गोलेडाँडा, रातो पहाड, सिनेही पहाड, ‘स्टोनपार्क’, रानीवन, अमृतधारा, चिसापानी, सीतागुफा, वनशक्ति मन्दिर, बाघमोर्चा मन्दिर, सिकारीबास लगायत करिब ५० पर्यटकीयस्थल छन् । सुवर्णपुरमा मधेश प्रदेशको पहिलो घरबास (होमस्ट) सञ्चालनमा छ ।

ठोरी गाउँपालिका- २ स्थित भ्युटावरबाट सूर्योदय र सूर्यास्त हेर्न धेरै पर्यटक जाने गरेका छन् । पर्यटकको आगमन बढेसँगै त्यहाँ होटल र रेष्टुरेन्ट पनि खुुल्न थालेका छन् । ठोरी तीनवटा राष्ट्रिय निकुञ्जको सङ्गमस्थल हो । वन्यजन्तु तथा वनस्पतिको अवलोकन गर्न प्रकृतिप्रेमी पर्यटक पनि त्यहाँ जाने गरेका छन् । 

भारतको सीमावर्ती सहर जमुनिया, नरकटियागञ्ज, रामनगर, रक्सौल, सुगौली, मुजफ्फरपुर र पटनालगायत सहरबाट पर्यटक ठोरी आउने गरेका पर्यटन व्यवसायी सिंहले बताउनुभयो ।

औपचारिक रूपमा नेपाल आउने भारतीय पर्यटकको सङ्ख्या नगण्य छ । अध्यागमन कार्यालयका अनुसार सन् २०२४ मा वीरगञ्ज नाकाबाट दुई हजार ८६ जना पर्यटक नेपाल भित्रिएका छन् । 

होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगञ्जका अध्यक्ष हरि पन्तले नयाँ वर्षमा वीरगञ्ज बजार क्षेत्रका ५० भन्दा बढी होटलमा ६० प्रतिशतको हाराहारीमा अतिथि बस्ने गरेको बताउनुभयो ।

ठोरीमा मात्र होइन, वीरगञ्ज महानगरभित्र पर्ने सीमावर्ती रक्सौलसँगै जोडिएको शङ्कराचार्य द्वार, गहवामाई मन्दिर, घडीअर्वा पोखरी, पशुपतिनाथ मन्दिर, विन्दवासिनी लगायत धार्मिकस्थलमा पनि भारतीय र स्वदेशी पर्यटक जाने गरेका छन् ।