
विश्वभर अङ्ग्रेजी नयाँवर्ष २०२५ हर्षोल्लाषका साथ मनाइँदै गर्दा नेपालमा भने ‘टोपी दिवस’पनि मनाइँदैछ।
मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु गरेका थिए।
नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन। टोपी दिवसमा अवसरमा कहिल्यै टोपी नलगाउनेले सम्म टोपी लगाएर सामाजिक सञ्जालमा फोटो पोष्ट गर्ने गर्छन । त्यसो त कतिपय महिलाहरुले पनि टोपी लगाएर टोपी दिवसको शुभकामना दिने गरेको पाइन्छ ।
विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ। तर नेपालका विभिन्न समुदायले आ-आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन्।
यो दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामका साथ नेपाली टोपी दिवस मनाएका छन।
यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ। टोपी दिवश मनाउन पाटन पुगेका सबै जना आफ्नो संस्कृति जोगाउन र नेपालको पोशाकलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउनको लागि टोपी दिवस मनाएको बताउँछन।
सरकारकी स्तरबाट यसको मान्यता पाएको आधिकारीकता नभएपनि युवादेखि पाका पुस्तासम्मका मानिसहरु टोपी दिवसमा शुभकामना दिन भने व्यस्त देखिन्छन।