
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा एमपक्स जोखिमसँग जुध्न अपनाइएको सजगताबारे सम्बन्धित अधिकारीसँग छलफल गर्नुभएको छ ।
उहाँले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्थलगत निरीक्षण गर्दै सम्बद्ध अधिकारीहरूको बैठक डाकेर जोखिम फैलन नदिन प्रभावकारी सेवा दिनका लागि आग्रह गर्नुभएको हो ।
अहिले मन्त्रालयले एमपक्स फैलन नदिन विमानस्थल हुँदै स्वदेश आउने यात्रुका लागि हेल्थ डेस्क मार्फत निगरानी र सचेतनामूलक जानकारी दिँदै आइरहेको छ ।
मन्त्री पौडेलले विमानस्थलमा एयरलायन्स, नागरिक उड्डयन अधिकारी, अध्यागमनका कर्मचारी तथा सुरक्षाकर्मी सहित अधिकारीलाई नागरिकमाझ थप जोखिम फैलन नदिन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।
हाल साउदी अरेबियाबाट आएका दुई नेपाली नागरिकमा सङ्क्रमण देखिएकामा एक उपचारपछि घर फर्किसकेका छन् । अर्का एक जनाको सुरक्षित अवस्थामा सरूवा रोग नियन्त्रण अस्पतालमा उपचार भइरहेको छ ।
मन्त्री पौडेलले नमुना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला, उपचारका लागि सरूवा रोग नियन्त्रण अस्पताल र सचेतना फैलाउन इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखाले मिलेर काम गरिरहेको जानकारी दिनुभयो ।
मन्त्रालयले विमानस्थलबाट बाहिरिएका शङ्कास्पद बिरामीको सम्पर्क ट्रेसिङका अलावा फर्कनेहरूलाई एमपक्सबारे सचेतना विमानस्थलमा रहेको हेल्थ डेस्कबाट फैलाइरहेको छ ।
बिरामीको टेकुस्थित सरुवा नियन्त्रण अस्पतालमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।