
रसुवागढी जलविद्युत् आयोजनाले व्यवसायिक रुपमा सुरु गरेको उत्पादन विद्युत प्रसारणको राष्ट्रिय प्रणालीमा जोडिएको छ ।
चिलिमेको सहायक कम्पनीको रुपमा रहेको रसुवागढी हाइड्रोले १११ मेघावाट विजुली उत्पादन सुरु गरेको हो ।
आयोजनाबाट वार्षिक रुपमा ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत उत्पादन हुने छ । उक्त विद्युत बिक्रीबाट कम्पनीलाई वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी हुनेछ ।
रसुवाको गोसाइकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका ३७-३७ मेगावाटका तीनवटा युनिट मध्ये एउटा युनिटबाट मंसीर ५ गते बुधबार देखि परीक्षणका रुपमा विद्युत् उत्पादन सुरु गरिएको थियो ।
उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा मंगलबार देखि व्यावसायिक रूपमा उपलब्ध गराइएको रसुवागढी जलविद्युत् कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक छबी गैरेले जानकारी दिनुभयो ।
कम्पनीमा कर्मचारी सञ्चय कोषका सञ्चयकताको १५.५ प्रतिशत, कम्पनीका संस्थापक संस्थाहरु ( प्राधिकरण, चिलिमे र रसुवा जिल्लाका सम्बन्धित स्थानिय तह)का कर्मचारीहरु तथा ऋणदाता संस्था (कर्मचारी संचयकोष)का कर्मचारीहरुको ४.५ प्रतिशत, आयोजना प्रभावित रसुवाबासीको १० प्रतिशत र आमसर्वसाधारणको १५ प्रतिशत गरी ४९ प्रतिशत साधारण सेयर रहेको छ ।