काठमाडौं, पुस १९ :

मानवअधिकार तथा शान्ति समाजको २७औँ राष्ट्रिय परिषद् बैठक नवलपुरको गैंडाकोटमा हुने भएको छ ।

माघ १६ र १७ गते चितवन र नवलपुर शाखाको संयोजनमा बैठक हुने तय भएको समाजकी महासचिव रेनुका पौडेलले जानकारी दिनुभयो । विकासको अधिकार : अहरणीय अधिकार भन्ने मूल आह्वानसहित हुन गइरहेको परिषद् बैठकमा विकासको अधिकारका अतिरिक्त जलवायु न्याय, बढ्दो युवा पलायन : सैन्य प्रयोजनमा दुरुपयोगको खतरा शीर्षकमा गरी एक दर्जन प्रस्तावमाथि छलफल हुनेछ ।

पौडेलका अनुसार राष्ट्रिय परिषद् समाजको सर्वोच्च नीति निर्णायक अंग हो । परिषद् बैठकले २७ सदस्यीय केन्द्रीय कार्यसमितिको निर्वाचनसमेत गर्नेछ । बैठकमा समाजका ३६ शाखाबाट प्रतिनिधि तथा पर्यवेक्षक गरी २५० जनाको सहभागिता रहनेछ ।

राष्ट्रिय परिषद् बैठक सम्पन्न गर्न समाजको चितवन शाखाका सभापति पूर्णचन्द्र चापागाई संयोजक र नवलपुर शाखा सभापति कमल शर्मा सह-संयोजक रहेको ५१ सदस्यीय मूल तयारी समिति र १३ वटा उपसमिति गठन भएको पनि महासचिव पौडेलले जानकारी दिनुभयो ।