काठमाडौं ।, पुस १९ :

अब विद्यालयमा स्वास्थ्यदूत नियुक्त गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउन भन्दै स्वास्थ्यदूत नियुक्त गर्ने निर्णय गर्नुभएको छ ।

विद्यालय नर्स कार्यक्रम लागु भइरहेका विद्यालयमा स्वास्थ्य प्रवर्धनात्मक विद्यालय र विद्यालय स्वास्थ्यदूतसमेत रहनेगरी मन्त्री पौडेलले विद्यालय स्वास्थ्य सेवा तथा नर्सिङ कार्यक्रम सञ्चालन निर्देशिकालाई परिमार्जन गरी नयाँ निर्देशिका स्वीकृत गर्नुभएको हो ।

अब विद्यालय नर्सिङ कार्यक्रम लागु भएका विद्यालयमा कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीले स्वास्थ्यदूतका रुपमा स्वास्थ्यसम्बन्धी आधारभूत जानकारी तथा स्वास्थ्य सजगतासम्बन्धी जानकारी फैलाउन विद्यालय नर्सलाई सघाउनेछन् । यसैगरी, नियमित खोप कार्यक्रम तथा अन्य सचेतनामूलक कार्यक्रममासमेत विद्यालय स्वास्थ्यदूतलाई उपयोग गर्ने गरी मन्त्रालयले निर्देशिका परिमार्जन गरेको हो । विद्यालय स्वास्थ्यदूतलाई मन्त्रालयले दूतको परिचय र ब्याचका अलावा आवश्यक स्वास्थ्य जानकारीमूलक सामग्री पठाउनेछ ।

हाल देशका सातै प्रदेशका एक हजार तीन सय ८६ विद्यालयमा कार्यक्रम लागु भइरहेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले रोग निरोधात्मक कार्यक्रमका लागि विद्यालयलाई समेत सहभागी गराउने गत साउन २७ गते योजना तथा कार्यक्रममा घोषणा गर्नुभएको थियो । सोही कुरालाई मद्दत मिल्ने गरी अहिले निर्देशिका परिमार्जन गरेर विद्यालय स्वास्थ्यदूत थप्न लागिएको हो ।

पाँच सय विद्यार्थी भएका विद्यालयमा एक छात्र र एक छात्रा स्वास्थ्यदूत बन्नेछन् । उनीहरुलाई मन्त्रालयको नर्सिङ महाशाखामार्फत स्थानीय तह र विद्यालयका नर्सहरुले सचतेनामूलक कार्यक्रममा सहभागी र नेतृत्व दिलाउनेछन् । ‘हामीले नागरिकको स्वास्थ्य सुधार गर्न बालबालिका तहबाटै काम हुनुपर्छ भनेर यस्तो व्यवस्था गरेका हौं,’ मन्त्री पौडेलले भन्नुभयो, ‘यसले बालबालिका र उनीहरुमार्फत समुदायको स्वास्थ्य जानकारी वृद्धि हुने अपेक्षा गरेका छौं ।’

मन्त्रालयले यस वर्ष प्रयोगका रुपमा लागु गर्ने र आगामी वर्ष बजेटमा व्यवस्था गरेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । ‘विद्यालयमार्फत सचेतना थप प्रभावकारी हुन्छ भन्ने मन्त्रीज्यूको विश्वास छ,’ प्रवक्ता बुढाथोकीले भन्नुभयो, ‘त्यसैलाई आधार मानेर नयाँ व्यवस्था गरिएको हो ।’

अहिले विद्यालय नर्स कार्यक्रमका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरिरहेको छ । मन्त्री पौडेलको निजी सचिवालयका अनुसार तीनवटै तह मिलेर बालबालिकाको तहसम्म सचेतना फैलाउने काम गर्दा प्रभावकारी हुने विश्वासका साथ विद्यालय दूत कार्यक्रम अघि बढाइएको हो ।