काठमाडौं, पुस १९ :

प्रधानमन्त्री केपी ओलीले आधुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको उन्नयनले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आज (बिहीबार) भएको नेपाल संस्कृत विश्वविद्यालय सभाको ७७औं बैठकमा कुलपति समेत रहेका ओलीले संस्कृत शिक्षाले समाजको विकासका सन्दर्भमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले विज्ञानसँग जोड्दै यसको संरक्षण, खोज र अनुसन्धानमा सरकारले ध्यान दिने बताए ।

प्रधानमन्त्री ओलीले नेपालको आधुनिक शिक्षा विकासको जगमा रहेको संस्कृत शिक्षाले राजनीतिक जागरण सिर्जना गर्ने काममा पनि योगदान दिएको र वेदको अर्थ पनि विज्ञान भएकाले यस शिक्षालाई अगाडि बढाउन विश्वविद्यालयले अगुवाइ गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले अहिलेको सरकारले विश्वविद्यालयका भौतिक सम्मतिको रक्षा र स्वर्गद्वारी गुठीलगायत छरपस्ट रहेका जग्गाको उचित जगेर्ना गर्ने पनि स्पष्ट पारे ।

बैठकमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय शिक्षा नीति-२०७६ बमोजिम उच्च शिक्षालाई प्रतिस्पर्धी, उत्पादनमुखी र अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड दिइन् ।

नवनियुक्त उपकुलपति प्रा.डा. धनेश्वर नेपालले हाम्रा प्राचीन ऋषिमहर्षिको लामो तपस्याद्वारा निःसृत संस्कृत वाङ्मयमा ज्ञानविज्ञानको धारा प्रवाहित हुँदै आएकाले यसको मौलिकताको रक्षाका साथै आधुनिकीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बैठकले आर्थिक वर्ष ०८१/८२ को वार्षिक शैक्षिक कार्यक्रम तथा आय व्यय (बजेट) पारित गरेको थियो ।