टीकापुर, पुस २० :

कैलालीको टीकापुर नगरपालिका- ४ ले वडामा रहेका १८ जना छात्रालाई साइकल वितरण गरेको छ । 

वडा कार्यलयले कक्षा ९ देखि १२ सम्म सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहनदार छात्रालाई साइकल वितरण गरेको हो । 

वडाले साइकल नभएर टाढा विद्यालय हिँडेर जान बाध्य छोरीहरूको शैक्षिक विकासमा सहयोग पुगोस भन्ने उद्देश्यले साइकल वितरण गरेको जनाएको छ । 

साइकल पाएपछि छात्रा मात्र नभइ उनीहरूका अभिभावक समेत खुसी भएका छन् ।

वडाध्यक्ष लालविर चौधरीले समाज निर्माणमा ठूलो भूमिका महिलाको हुने भएकाले महिला शिक्षित हुनुपर्छ भनेर छोरीलाई अघि बढाउन र स्थानीय सरकार भएको आभाष गराउन साइकल दिएको बताए । 

वडाले एक लाख ६० हजार बजेटमा १८ साइकल वितरण गरेको हो । साइकलका लागि ६० बालिकाको निवेदन परेको थियो । जसमा विपन्न र जेहेन्दारलाई प्राथमिकता दिइएको जनाएको छ । 

नगरपालिकाले विपन्न, पढाइमा लगनशील विद्यार्थीलाई छात्रवृत्ति दिने गरेको छ ।