चैनपुर , पुस २० :

बझाङको मष्टा गाउँपालिका- १ कोटदेवलमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

दुर्घटनामा मष्टा गाउँपालिका- १ रनाडाका ४२ वर्षीय धर्म थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज भण्डारीले जानकारी दिए ।

बिहीबार राति भातेखोलाबाट रनाडा जाने क्रममा सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जिप मष्टा गाउँपालिका- १ कोटदेवलमा दुर्घटना भएको उनले बताए । जिप सडकबाट करिब सय मिटर तल खसेको छ । जिपमा चालक थापा मात्रै थिए ।

गए राति नै तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आइरहेको जीप धमेना नजिक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो । 

दुर्घटनामा जीप चालक केदारस्युँ गाउँपालिका- १, रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका- ४ का ३६ वर्षीय बमबहादुर धामी, निजकी ७२ वर्षीया आमा जोगेनी देवीको घटनास्थल र उहाँकी पाँच वर्षीया छोरी आकृतिको उपचारका क्रममा अस्पतालमा  मृत्यु भएको हो ।