
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ । लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा शुक्रबार एफपीओ बाँडफाँट गरिएको हो ।
जसमा ४७ हजार ५५४ जना भाग्यमानीले १० कित्ताका दरले एफपीओ हात पारे । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथामार्फत एफपीओ बाँडफाँड गरिएको हो ।
त्यस्तै, ९ जनाले थप १ कित्ता सेयर प्राप्त गरेका छन् भने १ आवेदकले ०.१५ कित्ता प्राप्त गरेका छन् । एफपीओ खरिदका लागि कुल १६ लाख ९२ हजार १०६ आवेदकले दुई करोड २८ लाख ५२ हजार ८० कित्ताका लागि आवेदन दिएका थिए । त्यसमध्ये १६ लाख ८७ हजार ७७४ आवेदन स्वीकृत भएको छ भने ४ हजार ३३२ आवेदन रद्द भएको छ ।
लघुवित्तले गत पुस ५ गतेदेखि ९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ निष्काशन गरेको थियो ।
लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट एफपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सीडीएस एन्ड क्लियरिङले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np बाट पनि रिजल्ट हेर्न सकिन्छ ।