
धनुषालगायत मधेसका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछी अत्यधिक चिसो बढ्न थालेको छ ।
चिसोबाट बच्न न्यानो लुगा लगाएर अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन र झोलिलो खानेकुरा खान चिकित्सकले सुझाव दिएका छन् ।
विशेषगरी बालबालिका, वृद्धवृद्धा, दम तथा रुघाखोकीका बिरामी समस्यामा पर्ने भएकाले सतर्कता अपनाउन चिकित्सक चन्देश्वर महासेठको सुझाव छ ।
बाथ तथा गेठियाका रोग लागेका बिरामीलाई चिसोका कारण थप समस्या बढ्ने जोखिम हुने भएकाले चिसोबाट जोगिन बिहानको समयमा मर्निङ वाक नगर्न र गर्नै परे शरिर ढाकिने गरी न्यानो लुगा लगाउन महासेठले आग्रह छ ।
प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा जामुनप्रसाद सिंहले पनि केहिदिन देखि अत्यधिक चिसो बढेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
चिसो बढ्दै गएपछि प्रदेश सरकारले दाउरा तथा कम्बल वितरणका लागि पहल गरिरहेको जनाइएको छ । प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता दीपेन्द्रकुमार यादवले सबै जिल्लामा कम्बल पठाइसकिएको बताए ।
चिसोबाट बच्न अपनाउनुपर्ने सावधानी बारे चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।