
प्रतीकात्मक तस्बिर ।
भक्तपुर, पुस २० :
मध्यपुरथिमि नगरपालिका २, सानोठिमीमा एउटा स्कुटर दुर्घटना भएको छ । स्कुटर दुर्घटनामा श्रीमानको मृत्यु भएको छ भने श्रीमती सख्त घाइते भएकी छन् ।
सानोठिमीबाट मगरगाउँतर्फ जाँदै गरेको बा.प्र. ०२–०२८ प. ६६१० नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा सानोठिमी धुञ्चेपाखाका ३१ वर्षीय स्कुटर चालक निश्चलप्रकाश राजभण्डारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
स्कुटरको पछाडि बसेकी २८ वर्षीया पूजा श्रेष्ठ सख्त घाइते भएकी छन् । उनको नर्भिक अस्पताल थापाथलीमा उपचार भइरहेको छ । पूजा र निश्चलप्रकाश श्रीमान्-श्रीमती हुन् ।
न्यौपानेका अनुसार निश्चलप्रकाशको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । घटनाबारे अनुसन्धान सुरु भएको उनले जानकारी दिए ।