ललितपुर, पुस २० :

आपतकालीन अवस्थामा ताजा रगत खोज्न सहजीकरणका लागि ‘ब्लड फर मी’ ‘एप्स’ सार्वजनिक गरिएको छ । 

ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) जिल्ला शाखा ललितपुरको विशेष अधिवेशनका अवसरमा आज बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले एप्स सार्वजनिक गरेका हुन् ।

मन्त्री महर्जनले मानवीय सेवासँग जोडिएको रक्तदानलाई व्यवस्थित बनाउन र आपतकालीन अवस्थामा रगतको अभाव पूर्ति गर्न प्रविधिको प्रयोगले महत्वपूर्ण टेवा पुग्ने  बताए।

उनले रक्तदान जस्तो महान् कार्यलाई बढावा दिन जनचेतनामूलक क्रियाकलाप अगाडि बढाउनुपर्नेमा जोड दिए । 

नेपाल रेडक्रस सोसाइटी ललितपुर शाखाका अध्यक्ष बाबुराजा महर्जनले बिरामीहरूलाई सहज र स्वच्छ रगत उपलब्ध गराउन संस्थाले निरन्तर योगदान दिने बताए। 

उनले आफूहरूसँग तीन सय सङ्घसंस्था प्रत्यक्ष रूपमा जोडिएको जानकारी दिँदै स्वयंसेवी रक्तदाताहरुलाई निरन्तर हौसला प्रदान गर्न सबैको सहयोग आवश्यक रहेको धारणा राखे।